अर्जुन खालिङसंगको पहिलो भेट, अन्तिम बसाइ र अविस्मरणीय क्षण

अर्जुन खालिङसंगको पहिलो भेट, अन्तिम बसाइ र अविस्मरणीय क्षण

–अर्जुन राई

गाउँ एउटै भए पनि प्रत्यक्ष रूपमा दाजु अर्जुन खालिङलाई चिन्ने मौका मिलेको थिएन । २०६२ सालमा म पहिलो चोटि काठमाडौ आउदा नयाँबानेश्वरमा अर्जुन खालिङसंग पहिलो पटक भेट भएको थियो । मंसिर महिना थियो त्यो । गाउँमा सानै उमेरमा सुनेको अर्जुन खालिङ सोलुखुम्बु साहित्यिक मन्चले प्रकाशन गरेको ‘नव प्रतिभा’ नामक पत्रिकामा बाहेक मैले देख्न पाएको थिइनं । चित्रकारको नामले गाउँमा चिनिएका खालिङलाई सायद मैले जस्तै पत्रिका र नामले मात्र चिन्ने मौका धेरैले पाए होला । माप्य दुधकोशी गाउँपालिका – १, जुभिङ (तत्कालीन जुभिङ गाबिस– ६) मा विस २०३२ साल भदौ २५ गते जन्मिएका अर्जुन खालिङ बुवा हेमप्रसाद राई र आमा पुतृमाया राईका जेठा पुत्र हुन् । घरको जेठो छोरा हुनुले पनि बढी जिम्मेवारी उनैको काँधमा आउथ्यो । गाउँमा मेलापात, घर–गोठ, बनपाखा, लेकबेशी गर्दै माध्यमिक तहसम्मको अध्ययन पूरा गरेर उनले काठमाडौं प्रवेश गरे । पाँच बहिनी र एक भाइको अभिभावक र घरमा बाबुआमाको साहारा दुबै भूमिका खेल्दै आफ्नो समुदाय र समग्र देशको लागि उनी अगाडि बढिनैरहे । कलम र कुची अर्जुन खालिङका लागि बलियो हतियार थिए । तिनै अस्त्रको माध्यमबाट समाजलाई सुधार्न आह्वान गरिरहे । लागिरहे । कहिल्यै नथाक्ने योद्धाको रूपमा उनी पहिचानको लडाइँ लडि नै रहे ।

म कुनै बेला खालिङको डेरामा पुग्दा उनी चित्र कोर्नमै व्यस्त देखिन्थे यद्यपि हामीबिच कुराकानी चलिराखेकै हुन्थ्यो । उनले खाडिमा चित्र बनाउदै गर्दा पनि हामीले कुरा गरिरहेका थियौं । हामीबिचको भलाकुसारीले उनलाई कुनै अबरोध गरेको थिएन त्यहाँ । औपचारिक–अनौपचारिक भेटहरू भइरहन्थ्यो काठमाडौमा । उनीसँगको हरेक भेट अर्थपुर्ण हुन्थ्यो । उनी मेरो उमेरका धेरैका लागि अभिभावक थिए । कुनै दिन अनामनगरमा एउटा अनौपचारिक भेट थियो उनीसँगको । के के गर्न सकिन्छ भन्ने विषयमा कुराकानी भएको थियो । उनले भने, ‘गर्न सकिने काम मात्र हामीले गर्ने त ? नसकिने काम चाहि गर्दै नगर्ने त ?’ उनीसँगको हरेक भेट हरेक बसाइ अर्थपूर्ण हुन्थ्यो ।

अर्जुन खालिङको दोस्रो कवितासंग्रह

खालिङका कवितामा किराती दर्शनका कुरा र सामाजिक यथार्थको प्रतिविम्ब अटेका छन् । त्यस्तै उनका चित्रमा मौलिक पहिचानका झलक प्रष्ट देखिन्छ । हिमाल र त्यस्तै प्राकृतिक सौन्दर्यका चित्रहरू आफै पनि बोलिरहेका जस्तो लाग्थ्यो तर उनका केही चित्रहरू जो कोहीले सजिलै बुझ्दैनन् जुन ‘अब्स्ट्र्याट्क’ खालका छन् । मैले पनि त्यही ‘अब्स्ट्र्याट्क’ चित्रको बयान गर्न आट गर्न सकिनं । मौलिक परम्परालाई आधुनिकताले कसरी ध्वस्त पारिरहेको छ भन्ने सन्देश उनको चित्रले स्पष्ट रूपमा बोलिरहेको देख्छु म । चित्रमा मात्र नभएर खालिङका कवितामा पनि त्यस्तै खालका प्रवृत्ति पाइन्छ । उनको कविताले मेरो आफ्नै कथा बोलेको जस्तो लाग्छ । यसले हरेक मनहरूको पीडा ओकलेको छ । नेपाली माटोको माया र बेरोजगारीले विदेश लखेटेका दाजुभाइको कथा उनको कवितामा झल्किन्छ । यत्रतत्र छरिएर रहेका भद्रगोल कच्चापदार्थलाई उनी सुन्दर काव्यिक सिर्जनामा ढाल्छ्न् । हामीले आफ्ना अव्यक्त कथा पढ्न र सुन्न कतै भौतरिरहनु पर्दैन, बस् , अर्जुन खालिङका कविता पाठ गरे पुग्छ । जीवन ज्युनका लागि मून्यवान दर्शन उनले कवितामार्फत दिएका छन् । समाजमा बिद्यमान टर्रो यथार्थलाई रसिलो काव्यको रूप दिएका छन् । खालिङका कविता मार्मिक भइकन पनि उतिकै रमाइलो छ । कविता पाठ गरिरहदा हासो र बेदनाका ज्वार एकै समयमा उठेको महसुस गरें मैले । साहित्यकारमा यस्तो खुबी एउटै सिर्जनामा अटेको बिरलै पाएको छु । कवि अर्जुन खालिङलाई ‘ट्र्याजी–रोमान्टिक’ कवि भन्न रुचाउछु म । मान्छेले जीवनमा हिउँद ‘ट्र्याजेडी’ र ग्रीष्म ‘रोमान्स’ दुबै ऋृतुको सामना गर्नु पर्छ । त्यसैले अर्जुन खालिङका कविताले पाठकलाई एकै बसाइँमा ‘रोमान्टिक’ र ‘ट्र्याजिक फील’ गराउँछ । कतै जिरीदेखि नाम्चेसम्म भारी बोकेर जीवन चलाएका थुप्रै बिजमलालहरूको दुख बोकेर कवितामा बगेका छ्न् कतै अज्ञानतालाई चिर्दै चेतनाको दीप बालेर उज्यालो छरेका छ्न् । संघीय गणतन्त्र नेपालमा भर्खरै सुरु भएको संघीयताका बारेमा बेखबर थुप्रै बिजमफूलहरूलाई उनी यसरी सम्झाउछ्न् आफ्नो सिर्जनामार्फत ः
बिजम !
तिमी यता आउनु पर्दैन
काठमाडौंलाई लिएर चाडै
ऊ, गाउँ आउदै छ
त्यसपछि तिम्रो खाक्चलप
तिम्रै जिन्दगीको करेसाबारीमा
तिमीसँगै रहनेछ सदाका लागि
र, जोत्ने छ बाझो बारी
फलाउने छ अग्र्यानिक अर्थतन्त्र
भरिने छ रित्तो घर र भकारी
पर्ने छैन कसैलाई जबरजस्ती
काठमाडौंमा कुच्चिन वा
अरबमा डढ्न ।

किरात महोत्सव २०६६, टुडिखेल, काठमाडौमा चित्र बनाउदै अर्जुन खालिङ

बिभिन्न समय वा उमेरमा मानिससँग पनि घुलमिल हुन सक्ने उनको विशेषता थियो । जोसँग पनि मिठो र रमाइलो शैलीमा बोल्ने कलाले उनको ललितकलाको व्यावहारिक प्रयोजन पनि स्पष्ट रूपमा देखिएको हुन्थ्यो । खालिङ नाँच्नमा पनि उतिकै खप्पिस थिए । कुनै वनभोज जस्ता कार्यक्रमहरुमा उनी नाचेको अझै पनि आँखामा झलझली आइरहेको छ । नाच्नु कलाको अर्को पाटो हो । मानिसले मौका मिलेको खन्डमा सारा दुख बिर्सेर रमाउन सक्नुपर्छ भन्ने पाठ यसबाट सिक्न सकिन्छ । जीवन र जगतलाई राम्रोसँग बुझेका खालिङबाट यस्ता धेरै कुरा सिक्न सकिन्छ ।

अर्जुन खालिङलाई मैले एक ‘भर्सटाइल’ व्यक्तित्वको रूपमा चिनेको छु जो कला, साहित्य र राजनीतिमा समानान्तर रूपमा लागिरहे । यथार्थको धरातलमा आफ्नो ‘हेरोइक’ चरित्र निर्वाह गरि नै रहे । चित्र र कविता दुवैको माध्यमबाट समाजमा बदल्ने उनको कठोट थियो । भनौदा आधुनिकताप्रति उनी सधैं चिन्तित थिए । परम्परामाथि आधुनिकताको हस्तक्षेप उनलाई असह्य भएको यसै पनि अनुमान गर्न सकिन्छ । बेरोजगारीका कारण बिदेशिएका नेपाली युवावर्गको समस्या, देशको अस्थिर राजनीतिक अवस्था आदिका बिषयलाई टिपेर उनी कविता बनाउथे । उनको दोस्रो कृति ‘गोयाङको सुगन्ध’ को सुरुवाती हरफ यहाँ राख्न उचित सम्झिएँ ः ‘कविता लेख्नु सोख होइन, बाध्यता बनेको छ । कविता निर्बल भयो भने चेतनाको खडेरीले समाज कुपोषित हुन्छ । यही बोधले कविता लेखिरहेछु म ।’ रहरमा दुई चार वटा कविता लेख्दैमा आफुलाई कवि भन्न रुचाउने व्यक्तिलाई उनले व्यङ्ग्य गरेको र समाजको अस्थिरता र बिचलनले कविता लेख्न प्रेरित भएको बुझिन्छ । समाजलाई बदल्ने एउटा संयन्त्रको रूपमा कवितालाई उनले लिएका छन् । ‘अनुहार हराएका, माटो गुमाएका र अधिकार खोसिएकाहरूको व्यक्त–अव्यक्त सुस्केरा र चीत्कार नै मेरा कविता हुन् ।’, उनी थप्छन् ।

उनको कविता र गीतले उनका जीवनकथा बोल्छन् । उनले आफ्नो उपनाम ‘गौनसे’ काठमाडांै प्रवेशसंगै बिर्सेर गएको कुरा उनी कवितामा व्यक्त गर्छन् । वाल्यकालमा वस्तु चराएको, ऐसेलु टिपेको , पर्म खेलेको गाउँका स्मृतिहरू उनको गीतमा सुन्न पाइन्छ । उनको धेरै कवितामा यस्ता ‘नोस्टल्जिया’ पाइन्छ । यसबाट उनले मातृभूमिलाई कति माया गर्थे भन्ने कुरा छर्लङ्ग छ । हरेक मौलिकपनले मातृभूमिसंग सम्बन्ध राख्ने भएकोले पनि उनको सिर्जनामा यस्ता कुराले स्थान पाएको हो भन्न सकिन्छ । उनले सधैं मौलिक पहिचानको पक्षमा कलम र कुची दुबै चलाए । किरात सौन्दर्यशान्त्रलाई उनले आफ्नो कला र साहित्यमा प्रस्तुत गरिरहे । साथै किरातीको वास्तविक सौन्दर्यका बारेमा खबरदारी गर्ने काम उनी आफ्नो कर्तव्य सम्झन्थे । यति मात्र नभइ उनी एक कुशल राजनीतिकर्मी पनि भएकाले सडकसङ्घर्षमा उत्रिनुमा पनि उनले कर्तव्य बोध गरे । संघीय समाजवादी पार्टीमा आबद्ध भएर जातीय पहिचानको लागि संघर्ष गरी नै रहे ।

‘चिन्डो बुक्स’ पब्लिकेशनका संस्थापक अध्यक्ष खालिङका ‘सुर्य डढिरहेछ निरन्तर’ र ‘गोयङको सुगन्ध’ दुई वटा काव्यिक कृति प्रकाशनमा आएका छन् । दोस्रो कृति ‘गोयाङ्को सुगन्ध’ ले पहिचान पुरस्कार पाउन सफल भएको थियो । यी त भए कविताका कुरा । कलाको कुरा गर्दा उनले चित्र कति बनाए, हिसाब गरेर साध्य छैन । देश र बिदेशका घर कोठाहरू सजिएका छन् उनको चित्रले । खालिङले थुप्रै अरु कलाकारलाई पनि जन्म दिए । नेपाल ललितकला क्याम्पसमा अध्यापन गर्दा छोटो समयमा पनि धेरै बिद्यार्थीलाई दीक्षित गराए । २०७४ साल साउनमा ललितकला क्याम्पसले राजधानीमा आयोजना गरेको ‘जर्नी भोटाहिटी टु कीर्तिपुर’ शीर्षकको कला प्रदर्शनीमा खालिङका एक विद्यार्थी विगुल ढकालले अफ्नो गुरु अर्जुन खालिङको चित्र राखेका थिए । आफ्नै गुरुलाई पेन्टिङमा उतारेका ढकालले पेन्टिङसँग आफ्नो फिलिङ्स जोडिएको सुनाए ।

किरात राई प्रज्ञा परिषदका सदस्य रहेका अर्जुन खालिङले जातीय पहिचानलाई सधैं सिरानीमा राखेर पहिचान संरक्षणको सपना देख्थे । जातीय मौलिक पहिचानको मुद्दामा डटेर लाग्ने उनी पहिचानलाई सम्झौतामा बिलीन गराउन हुदैन भन्ने पक्षमा थिए । खालिङ गाउँपालिका (हाल माप्य दूधकोशी गा.पा) नामाङ्कनका लागि र जुभिङलाई खालिङ गाउँपालिकामा समावेश गराउनमा उनको ठूलो योगदान छ । अर्कै गाउँपालिकामा परेको जुभिङलाई खालिङहरूकै समुदायमा ल्याउन सफल हुनुमा अर्जुन खालिङको नाम सम्झनै पर्छ । किरात राई लेखक संघका अध्यक्षसमेत रहेका खालिङ नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले २०७३ सालमा आयोजना गरेको ‘किरात लोक वास्तुकला’ शीर्षकको खुल्ला चित्रकला प्रतियोगितामा उत्कृष्ट भए ।

खालिङ समुदायको एक नक्षत्र थिए अर्जुन खालिङ जो बिलाएर गए । जसको कारण खालिङ मात्र नभएर समग्र किराँत र नेपाली आकाशमा केही अन्धकार छाएको छ । अब देशले यस्ता व्यक्तित्व पाउन कति शताब्दी कुर्नु पर्छ ? यतिकै भन्न सकिदैन । बर्षौको मेहनत र लगनशीलताले उनी महेन्द्र विद्याभूषण ’ग’ (स्वर्णपदक) प्राप्त गर्न सफल भए ।

किरात वास्तुकला सम्बन्धी अध्ययनका लागि उनले मलाई तथ्याङ्क संकलनका लागि काम लगाए । किरात अन्तर्गत सुनुवार जातिको वास्तुकलाको तथ्याङ्क संकलन गर्न रामेछाप जाने काम मेरो भागमा परेको थियो । तीन दिनको रामेछाप बसाइपछि सबै तथ्याङ्क संकलन गरेर म काठमाडौं फर्किएँ । मैले तथ्याङ्क सबै कम्प्युटरमा इन्ट्रि गरेर कोटेश्वरस्थित उनको निवासमा पुगेँ । सङ्कलित तथ्याङ्क बुझाएँ र केही समय त्यसै सँग सम्बन्धित कुराकानी भयो । म, अर्जुन दाइ अनि भाउजूगरी तीन जना थियौँ त्यहा । अरु बेलाको जस्तो उनको मूड थिएन । मलाई लाग्यो, उनी तनावमा छन् सायद । केही बेर मौनताले उपस्थित जनायो हामीमाझ । उनले मलाई अकस्मात् मलाई आफ्नो मुटु छाम्न लगाए अनि भने ‘धड्कन चलेको चाल पाउनु भो ?’ , ¬‘अह !’, मैले आफ्नो धड्कन अनुभव गर्न नसकेको कुरा भनें । त्यसपछि उनी पनि ढुक्क भए किनभने उनले आफ्नो मुटुको धड्कन महसुस नगर्दा आत्मबल नै घटिसकेको रहेछ । उनी नसाको समस्याबाट केही अप्ठ्यारो अवस्थामा थिए । मैले सामान्यरूपमा आफ्नो धड्कन महसुस हुदैन, खासै चिन्ता लिनु पर्दैन भनेर ढाडस दिएं । र केही क्षणको बसाइपछि म त्यहाँबाट बाहिरिएं । त्यही बसाइ अन्तिम बसाइ होला भन्ने मैले सोचेको पनि थिइनं तर त्यही बसाइ अन्तिम भइदियो ।

साभारः अर्जुन खालिङ स्मृतिग्रन्थ
(लेखक त्रिभुवन विश्वविद्यालयबाट भाषाविज्ञान विषयमा स्नातकोत्तर गर्दै छन्)

लेखकलाई फेसबुकमा भेट्न यहाँ क्लिक गर्नुहाेस् → अर्जुन राई

copyright:gaulenews.com

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार