काठमाडौं । नेपाली काँग्रेस सोलुखुम्बुले विश्वभरी फैलिएको र हजारौको मृत्यु भएको कोरोना भाइरस विरुद्ध एकजुट हुन सबैलाई आह्वान गरेको छ । सोलुखुम्बु जिल्लामा पनि दिनानुदिन कोरोनाको संक्रमण बढ्दै गएसँगै नेपाली काँग्रेस सोलुखुम्बुले विज्ञप्ति जारी गरेको छ ।
जिल्लाबासी नागरिकहरुले कोरोना संक्रमणलाई समुदाय स्तरमा फैलिनबाट जोगाउनको लागि ध्यान दिनुपर्ने र कोरोना सम्बन्धि स्वास्थ्य मापदण्डको पालनामा ध्यान दिन समेत अपिल गरिएको छ भने सोलुखुम्बु जिल्लामा पनि कोरोना सक्रमणको जोखिम बढेसँगै कोरोना संक्रमितको उपचार निःशुल्क सरकारले गर्नुपर्ने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
महामारी रोगको विरुद्ध लड्न सबैलाई तयारी अवस्थामा रहन अनुरोध गरेका नेपाली काँग्रेसले विश्वमा आतङ्कवाद नियन्त्रणका लागि करोडौँ डलर लगानी भइरहेको स्मरण गराउँदै यस्ता रोग नियन्त्रणका लागि भने नेपाल सरकारले पर्याप्त लगानी र चासो नदिइएको जनाइएको छ । महामारी रोगहरुलाई नियन्त्रण गर्नका लागि आर्थिक, राजनीतिक र सांस्कृतिक रुपमा सबै जना एकजुट हुनुपर्ने खाँचो रहेको समेत विज्ञप्तिमा जनाइएको छ ।