काठमाडौं । माप्य- खुम्बु मितेरी मोटरेबल पुलको औपचारिक उद्घाटन मंसिर ६ गते हुने भएको छ । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिका जोड्ने मितेरी पुलको उद्घाटन मंसिर ६ मा प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले गर्ने भएका छन् । सो कार्यक्रमका लागि पुर्व तयारी भइरहेको माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिए ।
पुल उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शेरधन राईको साथमा आर्थिक मामिला तथा योजना मन्त्री श्री इन्द्र कुमार आङ्बो, संघीय माननीय श्री हेमकुमार राई (सुरवीर) प्रदेश माननीयद्वय श्री बुद्धि कुमार राजभण्डारी, श्री उत्तम कुमार बस्नेत, जिल्ला समन्वय समिति प्रमुख श्री वीर कुमार राई लगायत स्थानीय तहका प्रमुखहरु सहभागी हुने कार्यक्रम रहेको छ ।
पुल निर्माणको जिम्मा जलप नेपालले पाएको थियो । ४८ मिटर लम्बाई र ६ मिटर चौडाईको पुल जलप नेपालले टेण्डर मार्फत ७ करोड २९ लाख ९७ हजार २ सयमा काम सम्पन्न गरेको हो । पुल निर्माणमा संघीय सांसद कोष मार्फत १ करोड, प्रदेश १ सरकारबाट २ करोड, बाँकी माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकाले लगानी गरेकाछन् । पुलको क्षमता ५५ टनको रहेको छ ।
सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा सडकको पहुँच स्थापित गर्न ओर्लाङघाटमा निर्माण गरिएको पुलको उद्घाटन कोरोना संक्रमणका कारण ढिलाई भएको बताएका अध्यक्ष राईले सरकारले कोरोना–१९ महामारी नियन्त्रण गर्न बनाएको स्वास्थ्य मापदण्ड पालना गरी कार्यक्रम सम्पन्न गर्ने अन्तिम तयारी पुरा भइरहेको समेत अध्यक्ष राईले शिखरसन्देशलाई बताए ।