माप्यमा कार्यालय भवन निर्माणका लागि स्थानीयहरुले धामाधम जग्गा निःशुल्क उपलब्ध गराउँदै

स्थानीयले शुरु गरे जग्गादान

काठमाडौं । सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिकाको भवन निर्माणका लागि स्थानीयले निःशुल्क जग्गा गाउँपालिकाको नाममा पास गर्न शुरु भएको छ । ४ नं. वडाका स्थानीयहरुले गाउँपालिकाको भवनका लागि आवश्यक जग्गा निःशुल्क दिने घोषणा गरे अनुसार सोमबारदेखि गाउँपालिकाको नाममा जग्गा पास गर्न शुरु गरेका हुन् ।

गाउँपालिकालाई स्थानीयले करिब ५० रोपनी जग्गा निःशुल्क दिने भएका छन् । केही जग्गादाता बिदेशमा रहेका कारण अहिले करिब ३६ रोपनी जग्गा मात्र गाउँपालिकाको नाममा पास हुने माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले शिखरसन्देशलाई जानकारी दिएका छन् ।

गाउँपालिकाका लागि आवश्यक बाँकी जग्गा पनि छिट्टै नै गाउँपालिकाको नाममा पास हुने भएको छ तर हालका लागि गाउँपालिकाले जग्गा भोगचलन गर्न सम्बन्धित जग्गाधनिबाट गाउँपालिकाले प्रतिबद्धता प्राप्त गरिसकेको छ ।

हालसम्म जिल्ला मालपोत कार्यालय सोलुखुम्बु श्रोतकाअनुसार बुधबारसम्म तीर्थमान राई, नौराज राई, थपिमाया राई, बिबामाया राई र रुन्चीमाया राईले गाउँपालिकाको नाममा जग्गा रजिष्ट्रेशन पास गरिदिएका छन् ।

माप्य दुधकोशी गाउँकार्यपालिकाको २०७४ पुस १३ गते बसेको बैठकले गाउँपालिकाको केन्द्र सबै वडाहरुको भौगोलिक दुरीको हिसाबले समान रुपमा पर्ने प्लटमा गाउँपालिका भवन निर्माण गर्ने निर्णय भएको छ । सो निर्णयमा वडा नम्बर ३ स्थित वासा स्वास्थ्य चौकी नजिकैको माँझगाउँ खोलादेखि दाम्कुसम्मको सडक आसपासको क्षेत्रभित्र कम्तीमा ५० रोपनी जग्गा उपलब्ध हुने भौतिक पूर्वाधार भएको, भौगर्भिक र प्राबिधिक दृष्टिकोणले समेत उपयुक्त ठाउँमा कायम गर्ने समेत निर्णय भएको थियो ।

गत कातिक २८ गते बसेको कार्यपालिकाको बैठकले गाउँपालिकाको नाममा जग्गा पास गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । गाउँपालिकाको नाममा जग्गाधनिले जग्गा रजिष्ट्रेशन पास गरेपछि गाउँपालिकाको भवन तथा अन्य संरचना बनाउन शुरु गर्ने गाउँपालिकाको योजना रहेको गाउँपालिकाले बताएका छन् । सोका लागि यस अघि नै कार्यपालिका सदस्य निमराज तामाङको संयोजकत्वमा कार्यपालिका सदस्य दिनेशकुमार राई र प्रमुख प्रशासकीय अधिकृत अबिलाल राई सदस्य रहने गरी जग्गा व्यवस्थापन सहजिकरणको लागि समितिसमेत गठन गरेको थियो ।

अध्यक्ष राइकाअनुसार “गाउँपालिकाको नाममा जग्गा पास हुन शुरु भयो, अब छिट्टै नै सम्भव भएसम्म चालु आर्थिक बर्षभित्र भवन निर्माणको कार्य शुरु गर्ने तयारीमा छौं” । गाउँपालिकाको निर्णय बमोजिम अब भौतिक निर्माण कार्य अघि बढ्नेछ । गाउँपालिकाको सभाहल यस अघि नै निर्माण सम्पन्न भई प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुभएको थियो भने पुनः अब छिट्टै नै गाउँपालिकाको कार्यालय भवन पनि उद्घाटन गर्ने गराउने कार्यमा लागी परेको समेत अध्यक्ष राईले शिखरसन्देशलाई जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार