काठमाडौं । नेपाल एउटा विविधताले भरिपूर्ण मुलुक हो । भौगोलिक, धार्मिक एवम् साँस्कृतिक, जातीय, भाषिक विविधता नै यस देशका प्रमुख विशेषता हुन् । यसैले विद्यालय तहमा केन्द्रबाट तयार गरी वितरित पाठ्यक्रमले मात्र विद्यार्थीहरूलाई आवश्यक ज्ञान, सीप र व्यवहारका सम्पूर्ण सक्षमताहरू प्रदान गर्न सक्तैन भन्ने यथार्थता अनुरूप स्थानीय पाठ्यक्रमको अवधारणा आएको हो । राष्ट्रिय पाठ्यक्रम प्रारुपले आधरभूत तहमा एक विषयको स्थानीय पाठ्यक्रम स्थानीय तहले तयार गरी पठनपाठन गराउनु पर्ने ब्यवस्था रहे अनुरूप माप्य दुधकोशी गाउँपालिका पनि स्थानीय पाठ्यक्रम निर्माणमा जुटेको छ ।
आगामी शैक्षिक सत्रलाई लक्षित गरी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको प्रमुख आतिथ्यमा बुधबार दुई दिने अभिमुखिकरण गोष्ठी सम्पन्न भएको हो । गाउँपालिका स्तरीय स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धी अभिमुखिकरण कार्यक्रमको सहजीकरण विज्ञ खिलानाथ श्रेष्ठले गरेको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले शिखरसन्देशलाई जानकारी दिए ।
सम्पन्न गोष्ठीमा अध्यक्ष बुद्धिकिरण राई, उपाध्यक्ष जुनितामाया मगर, शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका प्रमुख खगेन्द्र श्रेष्ठ, जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा सोलुखुम्बुका प्रमुख तारानाथ निरौला, स्थानीय पाठ्यक्रम निर्माण समितीका सदस्यहरु, माप्य दुधकोशी गाउँपालिकमा रहेका विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको उक्त गोष्ठीमा अध्यक्ष राईले कार्यक्रमलाई सम्बोधन गर्दै भने : “समय परिर्वतनशील छ सो अनुसार सामाजिक इच्छा, आकाङ्क्षा र आवश्यकताहरू पनि बढ्छन् । ती आवश्यकताहरू शैक्षिक पाठ्यांशमा समावेश हुनुपर्दछ, जसले विद्यार्थीहरूको ज्ञान, सीप र व्यवहारमा सकरात्मक परिवर्तन ल्याउन सकोस । यसै अनुरूप यो पाठ्यक्रम पनि सामाजिक आवश्यकतालाई सम्बोधन गर्न पनि परिमार्जन हुनेछ । यस क्षेत्रका प्राकृतिक, सामाजिक, साँस्कृतिक, भाषिक र वातावरणीय पक्षहरूको सकारात्मक सन्र्दभहरूको खोज, अनुसन्धान र गहिरो अध्ययन गरिनेछ र प्राप्त निष्कर्षलाई यस स्थानीय पाठ्यक्रममा समावेश गर्दै लगिने छ ।”
आशा गरौ माप्य दुधकोशी गाउँपालिकाले निर्माण गर्ने स्थानीय पाठ्यक्रम स्तरीय,समसामयिक र परिवेशअनुकूल निर्माण हुनेछ ।-शिखरसन्देश