माप्य दुधकोशी गाउँपालिकाको ४ र ५ वडा रहेको काँकु उज्यालो अभियानमा

झिलीमिली बन्दै काँकु, लघु जलविद्युत आयोजना निर्माण कार्य तीब्र

काठमाडौं । सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका वडा नं. ४ र ५ काँकुमा ७० किलोवाटको लघु जलविद्युत निर्माण कार्य तीब्रताका साथ भइरहेको छ । हालसम्म पेल्ट्रिक सेट र सोलारका भरमा उज्यालो रहेको काँकुमा लघु जलविद्युत आयोजना निर्माण धमाधम जारी छ । उक्त लघु जल विद्युत सम्पन्नताका लागि काँकु भुङ्गरा खोला लघु जलविद्युत नामक ७० किलोवाट क्षमताको आयोजना विस्तार गरिएको हो ।

उक्त लघु जलविद्युत आयोजना कादुरी एग्रीकल्चर एड एसोसिएसन, ब्रिटिस गोर्खाज नेपाल परियोजना ९केएए बीजीएन०ले ४ करोड ६० लाख रुपैयाँ लगानीमा सो आयोजनाको निर्माण कार्य थालिएको हो । सो परियोजनामा स्थानीयहरुले नै श्रमदानबाट बत्तिको पोल गाड्ने र पानीको लागि पाइप राख्न होलसमेतको काम धमाधम अघि बढाइरहेको छ ।

स्थानीय सरकार माप्य दुधकोशी गाउँपालिका र वडाको स्वीकृतिपछि कादुरीका प्रमुखको टोलीले आयोजनाको स्थलगत अवलोकन गरेपछि गत २०७७ मंसिर १४ गतेबाट औपचारिक रुपमा काम शुरुवात गरिएको हो ।

निर्माण कार्य भइरहेको उक्त लघु जलविद्युत आयोजना ६ महिना अवधिभित्र पूरा गर्नेगरी काम अघि बढाइएको र हालसम्म करिब ५० प्रतिशत भन्दा धेरै काम सकिसकेको उपभोक्ता समितिका सचिव महेश राईले जनाउँदै सो निर्माधिन आयोजनाबाट ३६० घर धुरी लाभान्वित हुने समेत जानकारी दिए ।

लघु जलविद्युत आयोजना लागि बुर्दम खोला र काँकुखोलाको पानी एक ठाउँ मिसाएर बनाइने छ । सोका लागि विद्युत गृह ओदु, कोफु र बाबर्खाको बिचमा पर्ने दोभानमा रहनेछ । उक्त आयोजना सम्पन्नका लागि कादुरीको तर्फबाट सुपरभाइजर लिलाराज राईको नेतृत्वमा ९ जना दक्ष जनशक्तिमार्फतसँगै स्थानीयहरुको समन्वयमा काम भइरहेको उपभोक्ता समितिको अध्यक्षमा डिकश्वर राईले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार