काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड–१९) को दोस्रो लहर गाउँबस्तीहरु ‘हटस्पट’ बन्न थालेको छ । सोलुखुम्बु जिल्लाका नौ वटै स्थानीय तहका दूरदराजका गाउँहरुमा कोरोना भाइरसको सङ्क्रमण निकै तीब्र रुपमा फैलिएको छ । क्रमिक रुपमा बढ्दो संक्रमणलाई न्यूनीकरणका लागि माप्य दुधकोशी गाउँपालिकाले सम्पूर्ण संयन्त्रलाई क्रियाशील बनाएको छ ।
मानवीय चहलपहल कम हुने गाउँबस्तीहरुमा सङ्क्रमण निकै तीब्र गतिमा फैलिन थालेपछि ग्रामीण क्षेत्रका आम नागरिकहरु त्रसित बन्दै गएका छन् । ग्रामीण क्षेत्रमा सङ्क्रमण तीब्र हुँदै जाँदा सतर्कता केही बढेको छ । यद्यपि परीक्षण गर्न अस्वीकार गर्ने, कोभिड–१९ को महामारीलाई सामान्य रुघाखोकी र ज्वरोको रुपमा मात्रै लिई हेलचेक्र्याई गर्नेको संख्या उल्लेख्य हुनाले सङ्क्रमण अझै बढ्नसक्ने खतरा देखिएको छ । यसर्थ कोभिड–१९ को रोकथाम तथा नियन्त्रणको लागि प्रत्येक वडामा छुट्टाछुट्टै समिति बनाई समस्या समाधानमा गाउँपालिका जुटेको छ ।
कोरोना भाइरस (कोभिड–१९) को संङ्क्रमणको रोकथाम, नियन्त्रण तथा उपचार लागि स्वास्थ्य उपकरण ढुवानी तथा स्वास्थ्यकर्मीहरुलाई गाउँटोलमा पु¥याउन गाउँपालिका अध्यक्षले आफुले प्रयोग गर्दै आएको गाडीलाई प्रयोजनमा ल्याएका हुन् । संक्रमित र मृतकको संख्या दिनानुदिन बढ्दै जानु चिन्ताजनक रहेको भन्दै गाउँपालिकामा ढुवानी तथा यातायातको सहज नभएको बेला अध्यक्ष राईले गाडी उपलब्ध गराएपछि भने निक्कै सजिलो भएको गाउँपालिका स्वास्थ्य संयोजक जितेन्द्र यादवको भनाई छ ।
अतः ‘नेपाल सरकार, विश्व स्वास्थ्य संगठन लगायतका संस्थाहरूले कोरोनाबाट जोगिनका लागि नियमित रूपमा मास्क लगाउन, स्यानिटाइजर प्रयोग गर्न, साबुनले हात धुन र सामाजिक दूरी कायम गर्न अनुरोध गर्दै आइरहेको छ ।