ऐतिहासमै पहिलो पटक सोलुखुम्बुमा रात्रिकालीन भलिबल खेल प्रतियोगिता

सोलुखुम्बु जिल्लाको सल्लेरीमा पहिलोपटक रात्रीकालिन भलिबल खेल खेलाइएको छ। स्टार यूथ क्लब, सोलुखुम्बुले आफ्नो स्थापना दिवसको अवसर पारेर प्रदेश नं. १ स्तरीय महिला तथा सोलुखुम्बु जिल्ला अन्तर स्थानीय तह पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेको हो ।

प्रदेश नं. १ का आन्तरिक मामिला तथा अर्थमन्त्री इन्द्रबहादुर आङ्बोले गरेको उद्घाटन प्रतियोगीतामा प्रथम, द्वितिय, त्रृतिय र सान्त्वना स्थान हासिल गर्ने महिला तथा पुरुष दुवैतर्फका विजेताहरुलाई समान राशी क्रमशः १ लाख पचास हजार, १ लाख, ५० हजार र २५ हजार नगदसहित प्रमाण–पत्र र मेडल प्रदान गरिने छ । सम्पन्न हुदै गरेको खेलमा पुरस्कार राशीमा महिला र पुरुषबीच विभेद गर्ने गरिएकाले उनीहरु समान हुन् भन्ने सन्देश दिनका लागि समान राशी प्रदान गरिने स्टार क्लबका अध्यक्ष नाम्गेल शेर्पाले बताए ।

हालसम्म हिमाली जिल्लाहरुमा रात्रीकालिन प्रतियोगिता खेलाइएको यो पहिलो हो । जिल्लामा आयोजित कार्यक्रमहरु मध्येकै उत्कृष्ट र पृथक रहेको प्रतियोगितामा महिलातर्फ झापा, खोटाङ, ओखलढुंगा र सोलुखुम्बु गरी ४ जिल्लाका ७ टिमको सहभागिता रहेको छ भने पुरुषतर्फ जिल्लाभित्रका १३ टिमको सहभागिता रहेको छ। प्रतियोगितामा मंगलबारको दिन मात्रै १२ सेट खेल खेलाइ सकिएको छ।

जिल्ला समन्वय समिति, सोलुखुम्बुको सल्लेरी प्राङ्गणमा बत्ती बालेर राति समेत खेल खेलाउन सुरु गरिएको हो। चिसो मौसम भए पनि दर्शकको भीड दिउँसोको समय भन्दा रात्रीकालिन समयमा अझ धेरै भएको बताउँदै चिसोलाई बेवास्ता गर्दै दर्शकले खेल हेरेर मनोरञ्जन लिइरहेको समेत क्लबका अध्यक्ष शेर्पाले बताए।

कार्यक्रम अवधिभर कुनैपनि समयमा अप्रिय घटना नहोस् भनी व्यापक रुपमा स्वयंसेवकहरु परिचालन गरिनुका साथै सुरक्षाकर्मीको विशेष सहयोग लिइएको छ। प्रतियोगिताका अन्तरराष्ट्रिय भलिबल रेफ्री विकास गुरुङको अनुसार लिग कम नकआउट नियमअन्तर्गत खेलाइएको प्रतियोगितामा जम्मा ३६ सेट खेल खेलाउनुपर्ने छ। तीमध्ये प्रतियोगिताको तेस्रो दिनसम्म २० सेट खेलाइसकिएको र राति ९ बजेसम्ममा थप दुई सेट खेल खेलाइएको थियो।

खेलपश्चात  सांगीतिक कार्यक्रमले दर्शकहरुलाई अर्को मिठासपन दिदै आएको छ भने कार्यक्रमको अन्तमा स्थानीय कलाकारसँगै राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति सांगीतिक साँझ आयोजना गरिने क्लबले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार