मेरापिक राष्ट्रिय निकुञ्ज घोषणाका लागि दिए कार्यदलले सुझाव

सोलुखुम्बु जिल्लाको तिन वटा गाउँपालिकाको क्षेत्रलाई समेटेर मेरापिक राष्ट्रिय निकुञ्ज’ घोषणा गर्न कार्यदलदले सुझाव दिएको छ । मकालु–वरुण राष्ट्रिय निकुञ्जको सोलुखुम्बुमा पर्ने मेरापिक क्षेत्रलाई समेटेर छुट्टै निकुञ्ज घोषणा गर्न कार्यदलले सुझाव दिएको हो ।

सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकाको ६४८ वर्गकिमि, सोताङ गाउँपालिकाको १०३ वर्ग कि.मि. र माप्य दूधकोसी गाउँपालिकाको ६ र ७ नम्बर वडाको केही क्षेत्रलाई समेटेर राष्ट्रिय निकुञ्ज घोषणा गर्न सकिने सम्भाव्यता भएको एक अध्ययन कार्यदलले सरकारलाई सुझाएको छ ।

धेरै हिमश्रृंखला, पवित्र ताल, झरनासमेत रहेको उक्त क्षेत्र कार्यदलले ४२१.२२ वर्गकिमिको मध्यवर्ती क्षेत्र प्रस्ताव गरेको छ । मध्यवर्ती क्षेत्रमा ६ वटा उपभोक्ता समिति रहने उल्लेख छ ।

वन तथा वातावरण मन्त्री संयोजक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन तथा प्रदेश १ का पर्यटन राज्यमन्त्री सदस्य एवं वन मन्त्रालयका सचिव सदस्य सचिव रहेको सल्लाहकार समितिले प्रतिवेदन अध्ययन गरी निकुञ्ज घोषणाका लागि मन्त्रि परिषदमा प्रस्ताव पेस गर्नेछ ।

मुलुकका १३ औं निकुञ्जको रुपमा घोषणा गर्न लागिएको मेरापिक राष्ट्रिय निकुञ्ज पूर्वतिर मकालु–वरुण र पश्चिममा सगरमाथा निकुञ्जसँग जोडिनेछ ।

हाल मकालु–बरुण निकुञ्जभित्र पर्ने बुङ र मेरापिक क्षेत्रबारे अध्ययन गर्न वन तथा वातावरण मन्त्रालयले गत मंसिरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव डिल बहादुर पूर्जा पुनको संयोजकत्वमा कार्यदल बनाइएको थियो ।

सोलुखुम्बु सदरमुकाम सल्लेरीबाट निकुञ्जभित्र पर्ने बुङ क्षेत्रभन्दा माथिसम्म सवारी साधन चल्छन् । पदयात्राका लागि मेरापिक विश्वमै प्रख्यात भएकाले निकुञ्ज घोषणापछि पर्यटन प्रवद्र्धन हुने अपेक्षा समेत लिइएको छ ।

प्रतिवेदनमा निकुञ्जका मुख्य पदयात्राका सात वटा रुट र मुख्य पर्यटकीय गाउँ, गुम्बा र सम्पदाको पहिचान गरिएको छ । उक्त क्षेत्रमा इङ्खु, हुँगु, दूधकोसी नदी, पाँचपोखरी, सेती पोखरीलगायत हिमतालहरुसमेत छन् । भने उच्च पहाडी जंगलमा देवदार, भोजपत्र र लालीगुराँस तथा २ देखि ४ हजार मिटर उचाइको समशीतोष्ण क्षेत्रमा निगालो, अर्खौलो, फिरफिरे र चाँपको जंगल छ ।

उक्त प्रस्तावित सिमा क्षेत्र भित्र २ सय प्रजातिका चरा, ६८ प्रजातिका स्तनधारी, ११ प्रजातीका माछा र २८ प्रजातिका पुतली पाइन्छन् । त्यस्तै, हिउँचितुवा, रेड पाण्डा, हिमाली कालो भालु, चितुवा, चाइनिज प्याङ्गोलिन र ध्वाँसे चितुवालगायत वन्यजन्तु पाइन्छन् ।

तस्बिर ः  Google.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार