१ नं. प्रदेशका प्रदेश सभा सदस्य गोम्बु शेर्पा ‘कर्ज्याङ’ ले सोलुखुम्बुका जनताले संघीयताको मूल मर्मअनुसारको प्रशासनिक सुगमताको प्रत्याभूति गर्न नपाएको बताएका छन् ।
सोमबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद शेर्पाले भने – “‘संघीयताको मूल मर्म प्रशासनिक सुगमता र सम्बन्धित प्रदेशको पहिचानलाई स्थापित गर्नु हो । तर पनि सोलुखुम्बुका जनताले त्यो अनुभूति गर्न पाएका छैनन्,”।
सोलुखुम्बुका जनताका लागि प्रदेश राजधानी पुग्न संघीय राजधानी पुग्नुभन्दा बढी सास्ती भोग्नुपर्ने दृष्टान्त सुनाउँदै त्यसप्रति प्रदेश तथा संघीय सरकारको ध्यानाकर्षण गराए । ‘सोलुखुम्बुबाट प्रदेश राजधानी विराटनगर आउनुभन्दा संघीय राजधानी काठमाडौं पुग्न सहज छ । विराटनगर आउनु काठमाडौं जानुभन्दा दोब्बर समय, दोब्बर खर्च र दोब्बर कष्ट भोग्नुपर्छ, यसमा सरकारको ध्यान जानु पर्ने बताएका छन् ।
शेर्पाले सोलुखुम्बुका जनताको सहजताका लागि कांगेल-विराटनगर र फाप्लु-विराटनगर हवाइ सेवा सुरू गर्नुपर्ने बताए । ‘नेपाल वायु सेवा निगमको नियमित उडान होस् । यसका लागि म प्रदेश र संघीय सरकारको गभ्मीर ध्यानाकर्षण गराउन चाहन्छु,’ समेत उनले बताएका छन् ।